
काठमाडौँ, चैत १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”